(१) कुनै उच्च माध्यमिक विद्यालयले ऐन र यस नियमावली विपरित उच्च शिक्षा प्रदान गरेमा वा सभा र परिषद्को निर्देशनको पालना नगरेमा वा परिषद्द्वारा निर्धारित कुनै शर्त पूरा नगरेमा परिषद्ले आफुले दिएको सम्बन्धन स्थगन वा रद्द गर्न सक्नेछ ।
तर त्यस्तो उच्च माध्यमिक विद्यालयलाई सफाई पेश गर्ने मौका नदिई सम्बन्धन स्थगन वा रद्द गरिनेछैन ।
(२) कुनै उच्च माध्यमिक विद्यालयले आफैंले परिषद्बाट पाएको सम्बन्धन स्थगन वा रद्द गर्न चाहेमा परिषद् समक्ष निवेदन दिन सक्नेछ ।
(३) उपनियम (२) बमोजिम कुनै निवेदन पर्न आएमा परिषद्ले सो निवेदन र सम्बन्धित उच्च माध्यमिक विद्यालयको शैक्षिक स्थितिलाई समेत विचार गरी त्यस्तो सम्बन्धन स्थगन वा रद्द गर्न सक्नेछ ।
(४) उपनियम (१) बमोजिम परिषद्ले सम्बन्धन स्थगन वा रद्द गर्दा निरीक्षण टोली खटाई सो टोलीबाट प्राप्त प्रतिवेदन समेतको आधारमा स्थगन वा रद्द गर्नु पर्नेछ ।
(५) उपनियम (१) वा (३) बमोजिम परिषद्ले सम्बन्धन स्थगन वा रद्द गर्दा सकभर यस्तो विद्यालयको शैक्षिक सत्रलाई असर नपर्ने गरी गर्नु पर्नेछ ।
(६) उपनियम (१) वा (३) बमोजिम सम्बन्धन स्थगन वा रद्द भएका उच्च माध्यमिक विद्यालयमा नयाँ विद्यार्थी भर्ना गर्न पाइनेछैन ।
तर त्यस्तो उच्च माध्यमिक विद्यालयले भर्ना भइसकेका विद्यार्थीहरुको उच्च माध्यमिक तह पूरा गर्न लाग्ने न्यूनतम अवधिसम्म अनिवार्यरुपले कक्षा संचालन गर्नुपर्नेछ ।
(७) सम्बन्धन स्थगन भएको उच्च माध्यमिक विद्यालयको कुनै शैक्षिक सत्रको अन्तिम अवधिसम्म त्यस्तो स्थगन फुकुवा नभएमा सो अवधि पूरा हुनासाथ नियम ४ वा ५ बमोजिम प्रदान गरिएको सम्बन्धन स्वतः रद्द भएको मानिनेछ ।